सपना डाक्टरको
डा. पदम नेपाली print
एसएलसीको नतिजा प्रकाशनसँगै पास हुने र राम्रो अंक ल्याउनेमा खुसियाली र नतिजा बिग्रेकाहरूमा निराशा छाएको छ। यसपालीको एसएलसी नतिजामा सर्वोकृष्ट ९४% ल्याउने दीक्षित पौडेल तथा समुदायिक विद्यालयबाट सबैभन्दा धेरै ९३.८७ प्रतिशत ल्याउने भावना अर्याल दुवैले मुटुरोग विशेषज्ञ बन्ने लक्ष्य र चाहना व्यक्त गरे।
उनीहरु मात्र किन, विशिष्ट श्रेणीमा उतिर्ण २१ हजार २ सय ४७ तथा प्रथम श्रेणीमा उतिर्ण ९० हजार ४ सय ७६ , सबैलाई सोध्यो भने थोरैले मात्र अरु केही लक्ष्य सुनाउलान् नत्र धेरैले डाक्टर बन्ने नै सपना सुनाउने कुरामा दुईमत छैन।
यसको अर्थ दोस्रो र तेस्रो श्रेणीमा उतिर्ण हुनेले सो सपना पाल्दैनन् भन्न खोजिएको पक्कै हैन। त्यहाँ भित्रका पनि कयौंले डाक्टर बन्ने सपना साँचेका छन्। आजसम्म उत्कृष्ट विद्यार्थीले डाक्टर इन्जिनियर बन्ने सपना मात्र सुनाएको सुनिँदै आएकोछ।
किन भन्दैनन् त नेपालका उत्कृष्ट विद्यार्थीहरू म शिक्षक बन्छु, म राजनीतिज्ञ बन्छु, वकिल बन्छु, कृषक बन्छु, सवारी चालक बन्छु, प्रहरी बन्छु, सेना बन्छु आदि भनेर? अनि हरेक बाबुआमाले पनि आफ्नो बच्चा जन्मेर धर्तीमा टेक्न नपाउँदै ऊ/उनी डाक्टर बनि सेतो कोट लगाएर आला भिरी बिरामी जाँचेको सपना देख्छन्। नेपालमा जुनसुकै अभिभावकलाई पनि उनीहरुको छोराछोरीले चालक, खेलाडी, नेता, सेना प्रहरी, नायक-नायिका बन्छु भन्यो भने टाउको दुखेको विषय बन्छ। तर, डाक्टर बन्छु भनेको सुनेमा छाति र नाक एकसाथ फुलाउँछन्।
आखिर किन यस्तो भैरहेको छ?, अब्बल विद्यार्थीले डाक्टर मात्र बन्नुपर्छ भन्ने मान्यता किन स्थापित भयो? के यो एकमात्र सुरक्षित पेशा हो त? सबैले मनन् गर्नु आवश्यक छ।
भनिन्छ चिकित्सक धर्तीका दोस्रो र देखिने भगवान हुन्। उनीहरू मानिसको रोग, पीडा र व्यथालाई दुर गरि मृत्युको मुखमा पुगेकालाई पुनर्जीवन दिने क्षमता राख्छन् र यो साँचो पनि हो। नाम, दाम र इज्जत पनि राम्रै देखिन्छ हाम्रो समाजमा। फलानोको छोरा डाक्टर, छोरी डाक्टर, ज्वाईँ डाक्टर, सुन्दैमा गर्व गर्ने मानसिकता छ हाम्रो समाजमा। त्यसैले हरेक आमाबाबुले आफ्ना सन्तानहरू पनि डाक्टर बनेको देख्न चाहन्छन् अनि छोराछोरीको पनि सोही सपना हुन्छ।
तर परिस्थिति त्यस्तो सोचेको जस्तो सहज छैन। अहिले एसएलसी दिएका लाखौ र प्लस टुमा जीवविज्ञान पढेका विसौं हजार विद्यार्थी डाक्टर बन्ने लाइनमा छन्। कक्षा १२ पास गरेका २०-३० हजार जना त काठमाडौंमै डाक्टर बन्ने तयारीमा जुटिसकेका छन्। त्यही भीडमा हरेक वर्ष २०-३० हजारको अरू नयाँ अनुहार थपिन्छ। र सत्य यो हो कि ति सबैजना डाक्टर बन्न सक्दैनन् र पाउँदैन पनि।
धेरैको डाक्टर बन्ने सपना तुहिएपछि कोहि इन्जिनियर, कोहि सिए, कोही म्यानेजमेन्ट तथा अरु विषय पढ्न जान्छन् भने केही चाँही विएस्सी गरेर प्राध्यापन पेशामा जान्छन्। यसरी एउटा सपना मरेर अर्को पेशामा मन नलागी नलागी लागेको व्यक्तिले कसरी त्यो क्षेत्रमा सिर्जनात्मक भएर काम गर्ला?
सोचनीय विषय छ। शिक्षक जो मनैदेखि आफ्नो पेशामा लगेर सबैलाई सही मार्गनिर्देशन गर्नुपर्ने हुन्छ, ऊ नै कहिँ सफल नभएपछि अन्तमा उक्त पेशमा आवद्ध भएपछि किन देशको शिक्षा प्रणाली असफल नहोस् त? नत्र खै त पहिलेदेखि नै शिक्षक बन्छु भनेर लक्ष्य राखेका को छ त हाम्रो शिक्षण पेशामा?
डाक्टर बन्ने सपना पालिरहँदा विशेषत ३ वटा कुरामा ध्यान दिनु आवश्यक छ। प्रथम कुरा यो देशमा हामीले सोचेभन्दा ठूलो संख्यामा डाक्टर बनिसकेका छन् र धेरै जना डाक्टर बन्ने क्रममा छन्। दोस्रो डाक्टर बन्नलाई सोचेजस्तो सजिलो छैन र तेस्रो डाक्टर बनिसकेपछि पनि तपाईँको जीवन सजिलो र सहज छैन।
वास्तवमा अहिलेको अवस्थामा हामी धेरैले डाक्टर बन्ने बाटोतिर लाग्नु उचित र चतुरता होइन। हालसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका (रेजिष्ट्रेसन पाएका) करिब १६ हजार चिकित्सक छन्। त्यसैगरी डाक्टरी डिग्री दिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७, काठमाडौँ विश्वविद्यालय अन्तर्गतका १० (विराट र देवदह मेडिकल कलेज पनि समेट्दा), धरान , पाटन अनि आर्मीको मेडिकल कलेज गरेर जम्मा २० ओटा मेडिकल कलेज छन्। हाम्रो जस्तो सानो देशको लागि यो धेरै ठूलो संख्या हो।
यी मेडिकल कलेजले हरेक वर्ष ६०, ७५, १०० देखि १५० जना विद्यार्थीलाई नयाँ भर्ना लिन्छन्। १०० देखि १५० जनाको भर्ना लिने कलेज पनि ६-७ वटा नै छन्। यसरी हेर्दा औसत रुपमा हरेक वर्ष नेपालबाट मात्र २५ सय देखि ३ हजारभन्दा बढी डाक्टर पास आउट भएर बजारमा आउँछन्।
भारत, बंगलादेश र चीन लगायत देशहरुबाट पनि हरेक वर्ष ६-७ सय जना नँया डाक्टर पढाई सकेर नेपाल भित्रिन्छन्। यसरी नेपालले वार्षिक ३५ सय देखि ४ हजार नँया डाक्टर (मेडिकल अधिकृत) पाउने देखिन्छ। यद्यपी विद्यार्थी पास हुने क्रम शत प्रतिशत नहुनाले यो संख्या केही घट्न सक्छ। ५० प्रतिशत नै घटाउने हो भने पनि हरेक वर्ष २ हजारदेखि २५ सय नँया डाक्टर नेपाली समाजमा भित्रिने गर्छन्।
त्यसैगरी दन्त चिकित्सकहरूको कुरा गर्ने हो भने नेपालमा डेन्टिस्ट उत्पादन गर्ने १२ वटा डेन्ट कलेज छन्। हरेक कलेजले ४०,५०, ६०, ७५ जनासम्मलाई भर्ना लिन्छन्। यसरी भर्ना भएका हरेक विद्यार्थी पास आउट हुने हो भने हरेक वर्ष नेपालमा मात्र ७ सय दन्त चिकित्सक उत्पादन हुनेछन्। नेपाल बाहिर भारत, बंगलादेश, चीन लगायतबाट पनि करिब सय जना दन्त चिकित्सक पास भएर नेपाल छिर्छन्। पहिले नै नेपालमा करिब १५ सय जना नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक छन्।
यो क्रममा डाक्टर उत्पादन भैरहने हो भने ५ वर्षमा डाक्टरहरुको संख्यामा दोब्बर र १० वर्षमा तेब्बर हुनेछ।
सो क्रम निरन्तर जारी रहनेछ किनकि नेपालमा खुलिसकेका मेडिकल कलेजलाई बन्द नगरिने कुरा निश्चित छ। चिकित्सक विरामी अनुपात घट्नेछ। यसले चिकित्सक बन्नेको जीवनलाई अन्योलता थप्ने मात्र होइन, स्वास्थ्य सेवकको गुणस्तर पनि नराम्ररी खच्कनेछ। अन्तमा संख्या बढेर यति हुनेछ कि एक दिन डाक्टरहरू वेरोजगार हुनुपर्नेछ अथवा वर्षै १ रुपैयाँ पनि नथापी कुनै हस्पिटलमा स्वयंसेवक गर्नुपर्नेछ। यहाँका डाक्टरहरुलाई विदेश जान पनि अरू वेरोजगार युवा खाडी गएजस्तो सजिलो छैन। विदेश जान थप एक दुइ वर्ष तयारी र १०-१५ लाख अरू खर्च गर्नुपर्ने देखिन्छ।
औषधि त हामी विरामी भएको बेलामा मात्र खाने हो। दिनरात त दाल, भात, दुध, दहि, रोटी, तरकारी,माछा-मासु खाएर बच्ने हो नकी डाक्टरले प्रिस्क्रिप्सन गरेको औषधि? त्यसैले आजका युवालाई कृषि प्राबिधिक र कृषि विज्ञ तथा वैज्ञानिक बन्नतिर आकर्षित गर्नुपर्छ र दैनिक करोडौको रुपैयाँको तरकारी, दुध खाद्यान्न, माछामासु विदेशबाट भित्रने अवस्थालाई हटाउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाई खाद्य संकट टार्नु युवाको दायित्व हो।
यसले युवालाई आर्थिक लाभ र राष्ट्रलाई सम्पन्न बनाउन भूमिका खेल्नेछ। त्यसैगरी जलस्रोतमा धनि देश अन्धकारमा हराइरहेछ। दिनरात चाहिने विजुली उत्पादन बढाउन उर्जा प्राविधिक र इन्जीनियरहरुको आवश्कता हुन्छ। यतातिर युवा लाग्ने हो भने हाम्रो भविष्य सुरिक्षित हुनेछ। त्यस्तै गरेर पर्यटन तथा जडिबुटी प्रशोधनतिर लाग्दा पनि रोजगारका प्रशस्त अवसर आउनेछन्। पर्यटन बढेपछि होटल म्यानेजमेन्टको दायरा पनि फराकिलो हुनेछ।
दोस्रो कुरा डाक्टर बन्न सजिलो छैन। तपाईमा दृढ इच्छाशक्ति, तीव्र प्रतिभा र राम्रो आर्थिक हैसियत हुनु जरूरि छ। कक्षा १२ को पढाई पुरा गरिसकेपछि पनि १५-२० हजार प्रतिष्पर्धिबाट छानिएर २-४ सय जना भित्र आटाउन सक्नु भयो भने बल्ल छात्रवृत्तिमा पढ्न पाउनुहुन्छ। छात्रवृत्तिमै पढ्नलाई पनि अन्य खर्चका लागि ६-७ वर्ष आर्थिक रुपले पुरापुर परिवारमा भर पर्नुपर्छ। कमजोर आर्थिक अवस्था हुनेलाई त्यहि ६-७ वर्ष पनि आर्थीक अभाव पिरोल्नेछ। झन् पैसा तिरेर पढ्ने हो भने त एम.वि.वि एस. पढ्न ५०-६० लाख र वि.डी.एस. गर्न १५-२५ लाख लाग्छ। पछि पी.जी. गर्न लाग्ने करोडौ रुपैया त छदैछ।
त्यसैले यथार्थ देखिसकेपछि हामीले दिन सक्ने सोझो सुझाव के हो भने, टन्न पैसा छ भने मात्र पैसा तिरेर पढ्नुस् अनि पछि पैसा उठाउन तिर होइन मानव सेवामा लाग्छु भन्ने संकल्प गर्नुस्। ऋण धन गरेर पढेको पैसा उठाउँला भनेर यो पेशामा नलाग्नु होला किनकि ६० लाख खर्च गरेर ६-७ वर्ष पढिसकेपछि पनि ६० हजार बचाउन ६ महिना काम गर्नुपर्ने हुन्छ। ६ वर्षसम्म पढ्नलाई कति कठिन छ भन्ने कुरा त खासै ठूलो रुपमा लिनु भएन। धेरै नम्बर ल्याउनु भन्दा पनि पास हुनुलाई ठूलो सफलता ठानिन्छ मेडिकल क्षेत्रमा।
अर्को डाक्टर बनिसकेपछि पो वास्तविक संघर्ष सुरु हुन्छ। अहिलेकै अवस्थामा पनि मुख्य शहरमा बसेको स्नातक तहको डाक्टरको कमाइले जीविका टार्न धौधौ पर्छ। पेट्रोल खर्च र खाजा खर्च घरबाट लिएर हस्पिटलमा स्वयंसेवक गर्न जानु पर्यो भने त्यति खर्च र मेहनत गरेर ६ वर्ष पढेको के काम? आंशिक रूपमा त्यो अवस्था आइसकेको छ र यस्तै अवस्था रहने हो भने केही समय पछि यो समस्या अझ विकराल भएर जाने निश्चित छ।
अर्को कुरा दिनरात डिउटीमा खटिरहँदा व्यक्तिगत तथा पारिवारिक जिन्दगीमा असर पुग्छ। आफ्नो जीवनसाथी, सन्तान र बाआमालाई प्रयाप्त समय दिन सकिदैन।
त्यसबाहेक, अन्तिम तथा जटिल अवस्थामा आएका विरामीलाई समेत सिमित स्रोतसाधनको वाबजुत पनि चिकित्सकले बचाउनै पर्ने नत्र डाक्टर तथा हस्पिटल माथि आक्रमण गर्ने आम प्रबित्ति ले यो पेशा झन् जोखिमपूर्ण बनेको छ। चरिकोटमा रक्ताश्राब भैरहेको व्यक्तिलाई काठमाडौँ रेफर गरेर पठाउँदा विरामीको बाटोमा मृत्यु हुन्छ अनि आफन्तजन हस्पिटलमा आगो लगाउन र डाक्टरलाई पिट्न पुग्छन्, यदपि कहिँ कतै चिकित्सक तथा हस्पिटलको तर्फबाट लापरबाही नै नहुने भन्ने पनि होइन, कहिलेकाहीँमात्र त्रुटि हुन सक्छ। त्यसको कानुनी समाधान खोज्नुपर्छ।
प्रयाप्त साधनको अभावमा अपरेशन (दक्ष जनशक्तिको पनि अभाव हुन सक्छ) गर्न नसक्दा रक्तश्राब भैरहेको विरामीलाई काठमाडौं पठाउनुपर्छ। एम्बुलेन्समा छिटोमा ४ घन्टामा काठमाडौं पुगिन्छ। एक मिनेटमा १० मिलिलिटर रगत बगे पनि ४ घन्टामा साँढे २ लिटर रगत खेर जान्छ। यसकारण विरामीको जीवन जोखिममा रहन्छ, आखिर दोष कसलाई त?, ‘चिकित्सकलाई’। यो एउटा दृष्टान्त मात्र हो।
त्यसैले नाम, दाम र इज्जत सबै सजिलै पाइन्छ भन्ने ठानेर यो पेशामा लाग्नेहरूले माथि उल्लेखित कुरालाई एक चोटी सोच्नुपर्छ। धेरै नर्सिङ कलेज खुल्नाले र धेरै नर्सहरू उत्पादन हुनाले नर्सिङ पेशाले भोगेको नियतिबाट हामीले पाठ सिक्नैपर्छ।
प्रकाशित मिति: आइतबार, आषाढ १३, २०७२ ११:४५:२०