एमाले नेता रामनाथ ढकालको निधन, सारा प्रयास गर्दा पनि बचाउन सकेनौँ : चक्रराज पाण्डे
स्वाइन फ्लुले ग्रसित नेकपा एमालेका नेता रामनाथ ढकालको केही बेरअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ। एमाले पोलिटब्युरो सदस्य एवं पूर्व सांसद रामनाथ ढकाललाई पछिल्लोपटक स्वाइन फ्लु भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनलाई क्यानसर र क्षयरोगको समस्या पनि थियो। ‘उहाँको भर्खरै निधन भएको छ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सेतोपाटीलाई जानकारी दिए। अस्पताल प्रमुख डा. चक्रराज पाण्डेले पनि उनको निधन भएको पुष्टि गरेका छन्। उनका अनुसार नेता ढकालमा गम्भीर रोगहरू थिए। ‘उहाँमा स्वाइन फ्लु, लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग थियो,’ उनले भने, ‘हामीले सम्पूर्ण प्रयास गर्यौ, भारतीय अस्पताल मेदान्तका चिकित्सकहरूसँग पनि हामी निरन्तर सम्पर्कमा थियौँ, सारा प्रयास गर्दा पनि बचाउन सकिएन।’
एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ढकालको शव अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिने भएको छ। गुल्मीमा जन्मिएका ढकाल अखिल पाँचौँका कार्यकताका रूपमा राजनीतिमा प्रवेश गरेका थिए। पञ्चायतकालमै अखिलको केन्द्रीय सदस्य रहेका उनी २०४८ सालमा अखिलको केन्द्रीय महासचिव भएका थिए। २०५० सालमा हेटौँडामा सम्पन्न अधिवेशनबाट उनी अखिलको केन्द्रीय अध्यक्ष भएका ढकाल २०५१ सालको मध्यावधि निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए।
त्यसपछि एमाले पार्टी राजनीतिमा सक्रिय रहेर लुम्बिनी अञ्चल इन्चार्ज भए। २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित ढकाल संसदको राज्यव्यवस्था समितिका सभापति भएका थिए।
No comments:
Post a Comment